बैंक वित्तीय संस्थादेखि पोर्टफोलियो म्यानेजरहरुले डाटा चोरी गर्दा नेप्सेको वेबसाइटमा समस्या


पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै अनलाइन कारोबार प्रणाली मात्र नभई नेप्सेको वेबसाइटमा समेत अधिक समस्या आउँदा कतिपय लगानीकर्ता बजारको सूचनाबाट बञ्चित हुन पुगे ।

एकातिर अनलाइन कारोबार प्रणालीले प्रयोगकर्ताको चाप धान्न नसक्नु अनि अर्कोतिर नेप्सेका २ वटा वेबसाइटहरु नेपाल स्टक डटकम र नेपाल स्टक डटकम डटएनपी डोमेनका वेबसाइट पनि नचल्नुले लगानीकर्ताहरुले शेयर बजारमा ‘ब्लाइण्ड’ खेल्नु पर्ने अवस्था उत्पन्न भयो ।

यस सम्बन्धमा नेप्सेले एउटा तथ्य सार्वजनिक गर्दै आफ्नो प्रणालीमा आक्रमण गर्ने गिरोह सक्रिय रहेको बताएको छ । नेप्सेका अनुसार विभिन्न कोडको अनाधिकृत प्रयोग गरी ठूलो मात्रामा वेबसाइटबाट तथ्यांक तथा विबरणहरु तान्ने प्रयास भइरहेकाले वेबसाइट चल्न नसकेको हो ।

यसरी ठूलो परिमाणमा एकै पटक तथ्यांक तान्ने प्रयास हुँदा कृतिम प्रयोगकर्ताको संख्या अधिक बढेकाले वेबसाइटमा वास्तविक लगानीकर्ताको पहुँच हुन नसकेको नेप्सेले जनाएको छ ।

नेप्सेको उच्च तहमा नै डाटा चोरी तथा आक्रमणको विषयलाई लिएर पटक पटक छलफल भइरहेका छन् । यस सम्बन्धमा नेप्सेले आईटी विभागलाई डाटा आक्रमणकर्ताहरुको पहिचान गर्न निर्देशन दिएसँगै प्रकृया अघि बढेको छ । 

अनाधिकृत रुपमा नेप्सेको वेबसाइटमा पहुँच स्थापित भइरहेको अवस्थालाई समाधान गर्न प्राविधिक उपायहरु अवलम्बन गरिरहेको बताएको नेप्सेले आगामी दिनमा पनि त्यस्ता अभ्यास गर्ने उपर कानुनी कार्वाही अघि बढाउने जनाएको छ ।

कसले गर्दैछ नेप्सेबाट डाटा चोरी ?

नेप्सेले तथ्यांक चोरी तथा आक्रमण भइरहेको बताउँदै गर्दा बजार बढेका बेला डाटाको व्यवसाय गर्ने स्वदेशी तथा विदेशी भेण्डर कम्पनीहरुको सक्रियता धेरै रहेको देखिएको छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले पनि नेप्सेको वेबसाइटबाट अनाधिकृत रुपमा डाटा स्क्रोलिङ गरिरहेको तथ्य नोटबजारले फेला पारेको छ ।

प्राविधिक विष्लेषण गर्नेहरुको जमात पनि नेप्सेको वेबसाइटबाट डाटा स्क्रोलिङ तथा पुलिङमा सक्रिय रहेकोमा पोर्टफोलियो म्यानेजरहरु पनि उक्तिकै सक्रिय छन् । नेप्सेको वेब पोर्टलबाट अनाधिकृत रुपमा डाटा तान्न खोज्नेहरुको आईपी ठेगानाका आधारमा केही संस्था तथा व्यक्तिहरुको विवरण नोटबजारले फेला पारेको छ ।

त्यस्ता विवरणलाई पुष्टि गरिदिनका लागि नेप्सेसँग आग्रह गर्दा अनुसन्धान भैरहेकाले अहिले नै नोटबजारले उपलब्ध गराएका व्यक्ति तथा संस्थाको नामलाई प्रमाणीकरण गर्न नसकिने जनाएको छ । यस सम्बन्धमा नेप्सेले भनेको छ, ‘डाटा आक्रमण गर्नेहरुको पहिचान हुने क्रम जारी छ, प्रमाणित भए पछि हामी त्यस्ता गिरोह तथा व्यक्ति सार्वजनिक गर्दै अहिलेको क्रम नरोकिए कानुनी उपचारमा जान्छौं ।’

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।