सगुनको शेयरमा नेपालबाट लगानी गर्नु अबैध – धितोपत्र बोर्ड


अन्तर्राष्ट्रिय बजारमा सूचीकरण हुने भन्दै विगत लामो समयदेखि सगुन इन्कर्पोरेशनले विश्वभरी छरिएर बसेका नेपालीबाट लगानी जुटाई रहेको छ ।

नेपालबाट कानुनी रुपमा नेपाल बाहिर लगानी गर्न नमिल्ने व्यवस्था रहेका बेला सगुनले नेपालबाट लगानी जुटाउन खोजेको भन्दै नेपाल धितोपत्र बोर्डले सचेत हुन नेपाली लगानीकर्तालाई आग्रह गरेको छ ।

सगुन इन्कर्पोरेशन नेपालमा वैध नभएको अवस्थामा नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा पचासजना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यबस्था रहेको छ ।’ बोर्डले भनेको छ, ‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्नुहुन सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरीन्छ । साथै प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न नगराउन समेत यो सूचना प्रकाशन गरिएको छ ।’

सगुनले पछिल्ला दिनहरुमा विश्वभर रहेका नेपालीलाई लक्षित गर्दै नेपाली सञ्चार माध्यममा विभिन्न किसिमका सूचना, विज्ञापन तथा लेखहरु प्रकाशन गराउँदै आएको छ । यसबाट नेपाली लगानीकर्ता पनि आकर्षित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अवैध किसिमले सगुनमा लगानी नगर्न धितोपत्र बोर्डले आग्रह गरेको हो ।

यस अघि पन सगुनले सन् २०१६ देखि नै विभिन्न चरणमा अन्तराष्ट्रिय बजारबाट मिनि आईपीओका रुपमा लगानी जुटाउँदै आएको छ । अन्य मुलुक र नेपालको कानूनी व्यवस्था फरक भएकाले नेपालबाट भने सगुनमा लगानी गर्न मिल्दैन । नेपालबाट लगानी गर्न नै नमिल्ने अवस्थामा नेपाली सञ्चार माध्यमको प्रयोग गरेर लगानीका लागि किन लगानीकर्ताको ध्यान तान्न खोजिएको छ भन्ने प्रश्न अहिले आम जनमानसमा छ ।

सगुन नेपालमा सगुन नेपाल प्रालिका नाममा दर्ता भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।