धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सोमबार नेप्सेमा सूचीकृत भएको अजोड इन्स्योरेन्स (AIL) को आईपीओ मंगलबार र बुधबार दुईदिन शेयर कारोबारमा आउन सकेन।
कारोबारमा आउन नसक्नुको मुख्य कारण स्पेसियल प्रि-ओपन सेसनमा कारोबार हुन नसक्नुलाई मानिएको छ। नेप्सेले बुधबार एक सूचना प्रकाशन गरी त्यसको प्रष्टिकरण समेत दिएको छ।
नेप्सेमा सूचीकृत कुनै पनि नयाँ धितोपत्रको पहिलो पटक दोस्रो बजारमा कारोबार गर्नु अघि स्पेसियल प्रि ओपन सेसनमार्फत मात्र हुने व्यवस्था छ । यसअनुसार दुबै दिन खरिद अर्डर आए पनि बिक्री गर्ने लगानीकर्ता नभेटिँदा कारोबार हुन नसकेको बताइएको छ।
बिहीबार पनि प्रि ओपन सेसनमा पहिलो कारोबारमा म्याचिङ कारोबार भएमा मात्र दोस्रो बजारमा लगानीकर्ताहरुले सो कम्पनीको शेयर खरीद बिक्री गर्न पाउनेछन् । स्पेसियल प्रि ओपन सेसन म्याचिङ्ग कारोबार नभएको खण्डमा निरन्तर कारोबार सत्रमा कारोबार गर्न अर्कोदिन कुर्नुपर्ने हुन्छ। यद्यपी यसअघिका दुईदिन कारोबार हुन नसके पनि आज भने कारोबार हुने अपेक्षा आम लगानीकर्ताले गरेका छन्।
नेप्सेले कम्पनीको कारोबारको लागि एआईएल कारोबार संकेत र पहिलो कारोबारको लागि न्यूनतम ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्म मूल्य रेञ्ज तोकेको छ ।
सोहि सीमाभित्र पहिलो दिन (साउन १३ गते) मा ५६९ वटा र दोस्रो दिन (साउन १४ गते) मा ५६७ वटा खरिद आदेश आएको नेप्सेले जनाएको छ । तर कुनै बिक्री आदेश प्राप्त नभएकाले कारोबार हुन नसकेको नेप्सेले उल्लेख गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार २५ देखि २९ गतेसम्म २७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेर साउन २ गते बाँडफाँड गरेको थियो । १ लाख २० हजार कित्ता कर्मचारीका लागि र १ लाख ५० हजार सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ।
आईपीओ बिक्रीपछि हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ । जसमा संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारणतर्फको ३० प्रतिशत शेयर हिस्सा छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया