कोरोनाले निजी सवारी साधनप्रति आकर्षण, मोटरसाइकलको माग बढ्यो

0
Shares

ललितपुरको हरिसिद्धि बस्दै आएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किने । सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उनी पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गरेका थिए । अहिले कोरोनाका त्रासका कारण आफ्नै साधनमा हिँड्ने उनको सोच छ । सामान्य अवस्थाभन्दा पनि विपद्का समयमा आफ्नो सवारीसाधन नहुँदा समस्या हुने उनको अनुभव छ । उनले भने, “समस्या भएकैले अहिले नै किनेर सिक्दै छु ।”

कोभिड–१९ त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा उनी घरमै बसे र मोटरसाइकल सिके । सरकारले असार १ देखि निजी सवारीसाधन खुलाए पनि त्यतिबेला आफूसँग सवारीसाधन नभएकै कारण उनले पसल खोल्न सकेका थिएनन् । त्यसपछि कति दिन हिँडेरै गएको उनले बताए । दैनिक पाँच किमी हिँडेर जाने र आउने गर्दा गाह्रो भएको उनले बताए। 

अहिले उनी सार्वजनिक बसबाटै आवतजावत गर्छन । अहिले एकातिर सार्वजनिक सवारीसाधन कम चलेका छन् भने अर्कातिर सङ्क्रमणको जोखिम रहेको उनको भनाइ छ ।

उनले भने, “बिहान साँझमा त अझै बसमा पनि भीडभाड हुने गर्छ ।” विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात कहिले बन्द त कहिले जोर/बिजोरमा सञ्चालन गर्दा निजी सवारीसाधनप्रति नागरिकको आकर्षण बढिरहेको छ ।

अहिले सार्वजनिक सवारीसाधन कम सङ्ख्यामा चलेको र कतिपयमा सुरक्षाका उपाय अवलम्बन नगरेकाले पनि यात्रु निजी सवारीप्रति आकर्षित भएका हुन । कतिपय व्यक्ति नयाँ नै किन्ने त कतिपय व्यक्ति रिकन्डिसन मार्फत पुरनो मोटरसाइकल र स्कुटर किनिरहेका छन् । कतिपय बिक्रेताले किस्ताबन्दीमा नयाँ अफरसहित ग्राहकलाई आकर्षित गरेको पाइन्छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म तीन हजार ६४१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ। असार महिनामा ६ हजार ५६६ बिक्री भएको थियो । लामो समयसम्म बन्दाबन्दी भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गत वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताए । उनका अनुसार कार्यालयमा नयाँ खरिद मात्रै नभएर नामसारीका लागि पनि धेरै सेवाग्राही आउने गरेका छन् । ‘सेकेण्ड ह्यान्ड’ व्यक्ति–व्यक्तिको किनबेच भइरहेको छ । उनले भने, “असारमा कार्यालय खुलेदेखि नै सेवाग्राहीको भीड छ ।”

सेवाग्राहीको एकै पटक भीडभाड हुने भएकाले कार्यालयले भीड कम गर्न जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधनको दर्ता गरिरहेको छ। उपत्यकाका अरु यातायात कार्यालयले टोकनमार्फत सीमित व्यक्ति मात्रै कार्यालयमा उपस्थित हुने वातावरण बनाएका छन् ।

सरकारले कार्यालय खुलाउने निर्णय गरेपछि उपत्यकामा रहेका सबै यातायात कार्यालयले सेवाग्राही भीड कम गरेर सेवा सञ्चालनको निर्णय गरेका थिए । यो कार्यालयले अहिले नयाँ दर्ता र नामसारी दुवैका लागि जोर/बिजोर लागू गरेको छ । उनले भने, “नयाँ दर्ता तोकिएका दिनमा गरेर नामसारी जुन दिन आउँदा पनि सकेसम्म फर्काइएको छैन।”

तीन महिनाभन्दा बढी समयसम्म बन्दाबन्दी हुँदासमेत गत वर्षभन्दा छ हजार कम मात्रै दुईपाङ्ग्रे सवारीसाधन दर्ता भएका छन् । गत आवमा ७३ हजार ३३१ सवारीसाधन दर्ता भएका थिए । आव २०७५/७६ मा ७९ हजार ३०० र आव २०७४/७५ मा एक लाख पाँच हजार ८६३ सवारीसाधन दर्ता भएका थिए।

नयाँ खरीद र नामसारी बढिरहँदा कार्यालयमा जम्मा हुने राजस्व गत वर्षभन्दा बढी हुने देखिएको छ । गत वर्ष साउनमा ११ करोड २८ लाख छ हजार १३१ राजस्व सङ्कलन भएको थियो। बिहीबारसम्ममा १२ करोड ७५ लाख १२ हजार ४६६ सङ्कलन भइसकेको छ । गत वर्ष असारमा १२ करोड ९९ लाख ८७ हजार ९६३ राजस्व सङ्कलन भएको थियो भने यो असारमा ६ करोड ७४ लाख २१ हजार ३३८ सङ्कलन भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।