काठमाडौँ । अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ल्याएको नतिजापश्चात् विश्व बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ ।
अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले धक्का बेहोरेपछि डेमोक्र्याटहरूले राम्रो नतिजा ल्याएको घटनाक्रमले सेयर बजार उकालो लागेको छ । सेयरको भाउ बढ्दा सुनको मूल्य घट्ने गर्छ ।
मध्यवधि चुनाव अघि ४ हजार १०० डलरभन्दा माथि रहेको सुनको भाउ हाल झण्डै ३०० डलरले घटेर ३ हजार ८७४.६१ अमेरिकी डलरमा झरेको छ । त्यस्तै चाँदीको मूल्य पनि ५३ डलरबाट झरेर ४७.५३ डलरमा आएको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य घटेसँगै पछिल्लो समय नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।







