चार दिनमै १५ हजारभन्दा बढीले सस्तियो सुनको भाउ


काठमाडौँ । सुनको भाउ चार दिनमा नै १५ हजार बढीले घटेको छ । तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ५०० रुपैयाँले र सोमबार १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको अवस्था, सेयर बजारमा आएको सुधार र अमेरिकी राजनीतिक घटनाक्रमलाई सुनको मूल्य घट्नुका प्रमुख कारणका रूपमा हेरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ । मंगलबार चाँदी तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले धक्का बेहोरेपछि डेमोक्र्याटहरूले राम्रो नतिजा ल्याएको घटनाक्रमले विश्व बजारमा सुनको मूल्यमा उल्लेख्य प्रभाव पारेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले बताए ।

उनका अनुसार, अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ल्याएको नतिजापश्चात् सेयर बजार उकालो लाग्यो । सेयरको भाउ बढ्दा सुनको मूल्य घट्ने गर्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।