राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा तीनै तहका सरकारलाई ध्यानाकर्षण


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादर सम्बन्धी गम्भीर विषयहरूमा तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका केन्द्रीय उद्योग तथा वाणिज्य विभाग प्रमुख एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको नेतृत्वमा हिजो र आज संघीय सरकारका विभिन्न मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री, सबै स्थानीय सरकारका प्रमुख र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने भएको हो ।

ध्यानाकर्षण पत्रमा भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत, उद्धार र पुनर्स्थापनाको व्यवस्था गर्न माग गरिएको छ ।

साथै, चाडपर्व नजिकिँदै गर्दा कृतिम अभाव र कालोबजारी रोक्न तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।

यस्तै जोखिमयुक्त सडकमा सवारी साधन सञ्चालन र भाडादर नियमनमा कडाई गर्न तथा चाडपर्वको समयमा हवाई यात्राको न्यूनतम भाडादर सुनिश्चित गर्न सरकारसँग रास्वपाले माग गरेको छ ।

अन्त्यमा, सार्वजनिक यातायातको भाडादर कार्यान्वयन, यान्त्रिक परीक्षण र लामो दूरीका सवारी साधनमा दुई चालकको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमार्फत रास्वपाले सरकारलाई सुझाव दिएको छ ।

यस पहलले महत्त्वपूर्ण मुद्दाहरूमा सरकारको ध्यान केन्द्रित गराउने प्रयास गर्दै रास्वपाले यी विषयहरूमा सरकारको तत्काल र प्रभावकारी कदमको अपेक्षा गरेको छ।