कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध


हुम्ला । अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन् । हिल्सा–सिमकोट सडक आयोजनाले निरन्तर आवागमन खुलाउने प्रयास गरेपछि आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएका उक्त सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुनेगरी सडक खुलाइएको हो । सडकमा क्षति पुगेका स्थानमा निरन्तर काम गरेर साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनाइएको जनाउँदै केही समयपछि ठूला सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख नेपालीले बताए ।

प्रमुख नेपालीका अनुसार अब सुर्खेत–नेपालगन्ज हुँदै हुम्ला आउने सवारीसाधन जिल्ला सदरमुकाम सिमकोटसम्म पुग्न सक्ने भएका छन् । “तर सिमकोटबाट चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त खण्डमा पनि सडक खुलाउने काम जारी रहेकाले यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ”, उनले भने ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोले कर्णाली करिडोरसहित जिल्लाका विभिन्न ग्रामीण सडकमा समेत क्षति पुर्याएको छ । ग्रामीण सडक सञ्चालनमा ल्याउन स्थानीय सरकारले पनि आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेका छन् ।

यसअघि बिहीबारमात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षाका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सोहीअनुसार मुख्य सडक तथा ग्रामीण सडक खुलाउने कामलाई तीव्रता दिइएको आयोजनाका प्रमुख नेपालीले बताए ।

कर्णाली करिडोर सञ्चालनमा आएसँगै बाहिरी जिल्लाबाट हुम्ला आउने खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ढुवानीमा सहज हुने भएको छ । यद्यपि सिमकोट-हिल्सा खण्ड र केही ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म जिल्लाको सबै क्षेत्रमा यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।