दसैँ आयो [तस्बिर कथा]


काठमाडौँ । दसैँघरमा घडा स्थापना गरी जमरा राखेसँगै यस वर्षको बडादसैँ सुरु भएकाे छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदामा सुरु हुने यस वर्षको बडादसैँ आज सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

यसैबीच, हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए ।

यस्तै, गोरखा दरबारको दसैँघरमा पनि विधिपूर्वक जमरा राखिएको छ । मूल दरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, दसैँका लागि खसीबोका र च्या‌ंग्राकाे खरिदबिक्री पनि सुरु भइसकेकाे छ भने बजारमा भिडभाड बढेकाे छ ।

केही तस्बिरमा हेरौँ दसैँकाे चहलपहलः (तस्बिरहरू सबै : रासस)

जुम्लाको सदरमुकाम खलंगा बजारमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिंगा राख्दै सुरक्षाकर्मी तथा स्थानीयबासी ।
जुम्लाको सदरमुकाम खलंगा बजारमा रहेको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगा राख्नका लागि पुराना लिंगा निकाल्दै स्थानीबासी र सुरक्षाकर्मी ।
जनकपुरधाम उपमहानगरपालिका-९ स्थित दुर्गा मन्दिरबाट बिहीबार निकालिएको कलशयात्रामा सहभागीहरू ।
जनकपुरधाम उपमहानगरपालिका-९ स्थित दुर्गा मन्दिरबाट बिहीबार निकालिएको कलश यात्रामा सहभागीहरू ।
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-१ स्थित हटियामा बिक्री गर्न राखिएका खसीबोका ।
सुनसरीको इनरुवा नगरपालिका–१ स्थित भगवती मन्दिरमा घटस्थापनाका दिन बिहीबार सर्वसाधारणले राखेको जमरा ।
घटस्थापनाका दिन बिहीबार गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिरमा राखिएको जमरा ।
वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा घटस्थापनाको दिन बिहीबार पूजापाठ तथा दर्शन गर्न आएका दर्शनार्थीको घुइँचो ।
काठमाडौँ महानगरपालिका-१५स्थित शक्तिपीठ शोभाभगवती मन्दिरमा बिहीबार घटस्थापनाका दिन पूजा तथा दर्शन गर्ने आएका भक्तजन ।
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बापुरमा अवस्थित शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा घटस्थापनाको दिन नव दुर्गा पूजा गर्न आएका भक्तजन ।
दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किँदै बारेकोटबासी । चरिचरनका लागि उनीहरूले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए ।
दसैँका लागि पोखरालगायत विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर मंगलबार म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरीमा ल्याइएका च्यांग्रा ।
घटस्थापनाका दिन राष्ट्रपति निवासमा जमरा राख्दै राष्ट्रपति रामचन्द्र पौडेल