सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसी, बोकाको प्रतिकेजी छ सय ७० रुपैयाँ तोकिएको छभने त्यसमा १० रुपैयाँ सहुलियत दिई छ सय ६० रुपैयाँमा बिक्री वितरण सुरु गरिएको उनले बताइन् ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी एक हजार २३० रुपैयाँ तोकिएको छ । यसमा पनि १० रुपैयाँ सहुलियत दिई एक हजार २२० रुपैयाँमा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।