केटिएम नेपालको “केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स”


केटिएम नेपालले “केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” कार्यक्रम समापन गरेको छ । यही कार्तिक ९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र “हट ल्याप च्यालेन्ज” मा सहभागी हुने अवसर प्रदान गरेको केटिएम नेपालले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गरेका थिए । अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए । कार्यक्रमका सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो दिन आयोजना भएको “हट ल्याप च्यालेन्ज” मा प्रतिस्पर्धीहरू, प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

केटिएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउने जनाएको छ ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १६ : ४७ बजे