शेयर बजारमा पौने ३ लाख सक्रिय लगानीकर्ता, अनलाइन प्रयोगकर्ता ५७ हजार

0
Shares

नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि सक्रिय लगानीकर्ताहरुको संख्या समेत बढ्न थालेको छ । पछिल्लो चरणमा प्राथमिक बजारमा ५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेको पाइएको छ भने दोस्रो बजारमै सक्रिय लगानीकर्ताको संख्या पौने ३ लाख पुगेको छ ।

लकडाउन पछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको छ । धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरुभएयता अनलाइन शेयर कारोबारलाई जोड दिँदै आएको छ ।

बोर्डले लगानीकर्ताहरूले शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेपछि अनलाइन लिनेहरुको संख्या ह्वात्तै बढेको हो । पछिल्लो दुई सातामै दोस्रो बजारमा १४ हजार लगानीकर्ता सक्रियलगानीकर्ता थपिएका छन् भने १० हजार बढी अनलाइन प्रयोगकर्ता बढेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साउन लागेयता मात्रै २५ हजार बढी अनलाइन प्रयोगकर्ता थपिएका छन् ।

गत असार २८ गतेसम्म कुल ३१ हजार ९८८ जना शेयर लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर पासवर्ड लिएकोमा त्यो संख्या बढेर साउन २९ गतेसम्म ५७ हजार १५६ पुगेको छ । साउन लागेयता नै अनलाइन प्रयोगकर्ताको संख्या ७८ प्रतिशतले बढेको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १८ लाख ६ हजार ८५८ डिम्याट खाता खुलेका छन । यीमध्ये ४ लाख बढी लगानीकर्ताले प्राथमिक बजारमा शेयर भर्ने गरेका छन् । पछिल्लो चरणमा निष्कासन भएको आइपीओमा ४ लाख ४८ हजारसम्म आवेदन परेको पाइएको छ । यसबाट पनि प्राथमिक बजारमा साढे चार लाख बढी सक्रिय लगानीकर्ता रहेको देखिन्छ । यी मध्येमा दोस्रो बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ७८ हजार बढी देखिन्छ ।

नेप्सेका अनुसार धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ७८ हजार १०१ पुगेको छ । जसमध्ये ५७ हजार १५६ जनाले अनलाइन प्रयोगका लागि युजर आईडी र पासवर्ड लिइसकेका छन् । तर नियमित शेयर कारोबार गर्नेका संख्या भने निकै कम छ। अनलाइन कारोबारका लागि खुलेका खाता र नेप्सेमा दैनिक हुने कारोबार हेर्दा करिब दश हजार लगानीकर्ताले नियमित कारोबार गर्ने गरेको आँकलन गर्न सकिन्छ ।

कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

नेप्सेका अनुसार अनलाइन ग्राहक सबैभन्दा बढी ब्रोकर नं ४२ सनी सेक्युरिटीजमा ४ हजार २४४ रहेका छन् । यस्तै ब्रोकर नं ५८ नासा सेक्युरिटीजमा ४ हजार ७३, ब्रोकर नं ३८ दिपशिखामा ३ हजार ८३१ अनलाइन प्रयोगकर्ता रहेका छन् । ब्रोकर नं ३४ भिजन सेक्युरिटीजमा मात्रै ३ हजार ११७ अनलाइन ग्राहक रहेका छन्। । हालसम्म ५ ब्रोकरमा ३ हजार बढी अनलाइन ग्राहक छन्। । ५ ब्रोकरमा अनलाइन लिने ग्राहकको संख्या १५१४८ छ । यो कुल संख्याको साढे २६ प्रतिशत हो ।

सबैभन्दा कम ब्रोकर नं १८ सगरमाथा सेक्युरिटीजका अनलाइन प्रयोगकर्ता १५४ रहेका छन्। ३ ब्रोकर कम्पनीमा हालसम्म पनि अनलाइन प्रयोगकर्ताको संख्या ३०० नाघ्न सकेको छैन । ११ ब्रोकरकम्पनीमा अनलाइन प्रयोगकर्ता ५०० भन्दा कम रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।