ग्लोबल आईएमई बैंकको नेतृत्व सम्हाल्न ५ वर्षपछि पुनः फर्किए रत्नराज बज्राचार्य

0
Shares

ग्लोबल आईएमई बैंक (GBIME) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज बज्राचार्य पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने बैंक व्यवस्थापनले नोटबजारलाई जानकारी दिएको छ । उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । यसभन्दा अघि बज्राचार्यले ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारीबाट २०७२ सालमा बाहिरिएका थिए ।

बज्राचार्य यसअघि सनराइज बैंकमा सीईओ थिए । सनराइज बैंकमा जानुअघि उनले ग्लोबल आइएमई बैंकमा पनि ४ वर्ष सीईओका रुपमा काम गरिसकेका छन् । उनले एनसीसी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका थिए ।

ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको ग्लोबल आईएमई बैंकमा नेतृत्व यसअघि साबिक जनता बैंकमा सीईओ रहेका पर्शुराम कुँवरले गरिरहेका थिए । कुँवरले राजीनामा दिएपछि ग्लोबलमा सीईओ पद रिक्त थियो ।

हालको ग्लोबल आईएमई बैंकमा जनता बैंकसहित अन्य १७ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएका छन् । ग्लोबल आईएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक हो । जसको चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।