काठमाडौँ । मानव तस्करीकाे आरोप लागेका कोसी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्राेतले बताएकाे छ । उनलाई निवासबाटै पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उनलाई काठमाडौँ ल्याउने तयारी गरिएकाे छ ।
मानव तस्कर गिरोहसँग जाेडिएपछि अधिकारीलाई एमाले कोसी प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाे थियाे भने साे निर्णय शनिबार बसेकाे केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।
प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई अधिकारी जापान उडेका थिए । तर, उनीसँगै गएका अन्य ३ जनासमेतलाई जापानकाे अध्यागमनले विमानस्थलबाटै डिपोर्ट गरेकाे थियाे । त्यसपछि नेपाल फर्किएका अधिकारीले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया