कोभिडको असरले निर्माण कार्य रोकिँदा सान्जेनको लागत र नोक्सान बढ्दो

0
Shares

अत्यन्त गतिमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजना कोभिड-१९ को असरले थप प्रभावति भएको छ । जसले गर्दा कम्पनीको निर्माण अवधि बढ्ने निश्चित हुँदा लागत र घाटा झनै चुलिने भएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष ०७६/०७७ मा घाटा २ करोड नाघेको छ । असार मसान्तसम्म कम्पनी २ करोड १४ लाख रुपैयाँ घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ६८ लाख नाफामा थियो ।

आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ८७ प्रतिशत तथा सान्जेनको ७६ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ। माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७/०७८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

तर, विश्वव्यापी कोभिडको असरको कारण भएको लकडाउन, सीमा व्यापार र आवागमनमा भएको रोकावटका कारण चिनियाँ ठेकदार कम्पनीले आवश्यक उपकरण र जनशक्ती आयोजनास्थलमा ल्याउन नसकेकाले आयोजना निर्माणमा ढिलाई हुने कम्पनीले बताएको छ ।

निर्धारित समयमा आयोजन पुरा नहुने भएपछि निर्माण लागत समेत बढ्ने कम्पनीको विवरणमा उल्लेख छ। लकडाउनका कारण ठेकेदारहरुले आवश्यक मेशिन तथा जनशक्ति आयोजना निमार्ण स्थलमा ल्याउन नसक्दा निमार्ण अवधि लम्बने निश्चित देखिएको छ।

सान्जेनको निर्माण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै नौ अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ४ अर्ब २७ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। जगेडाकोष पनि १० करोड ६५ लाख ऋणात्मक छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ७७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ६५ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.७६ रुपैयाँ तथा प्रतिशेयर कुल सम्पतिको मूल्य २३३.७८ रुपैयाँ छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।