बिर्तामोडमा कर्मचारी सञ्चयकोषको सेवा केन्द्र विस्तार


झापा । कर्मचारी सञ्चयकोषले झापाको बिर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । साेमबार एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गरे ।

साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको र यसले सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको धितालले बताए ।

कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत् सेवा प्रवाह गरिरहेको भए पनि धितोमा आधारित कर्जालगायत अन्य सेवा प्रवाहका लागि स्थानीय स्तरमा सेवा केन्द्रको स्थापना महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले कोषमार्फत् सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिए ।

उनले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताए ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ बमोजिम सञ्चय कोषले आवश्यक व्यवस्थापन गर्दै आएको छ ।

हाल निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापनसमेत कोषले गरिरहेको शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताए ।

प्रकाशित मिति: २६ कात्तिक २०८१, सोमबार  १५ : २० बजे