निषेधाज्ञा थपिए पछि बर्दियाका ८ वटा उद्योग वाणिज्य संघले बहिस्कार गरे DCCM बैठक


बर्दियाका ८ वटै उद्योग वाणिज्य संघले स्थानीय प्रशासनसँगको बैठकमा निषेधाज्ञा थप्ने निर्णय भएपछि विपद व्यवस्थापन समिति (DCCM) को बैठक बहिस्कार गरेका छन् ।

समितिमा आफुहरुलाई समेटिए पनि उद्योगी व्यवसायीका समस्यालाई सुन्ने पहल नगरी स्थानीय तहका प्रमुखहरुले निषेधाज्ञालाई लम्ब्याउन दवाब दिएको भन्दै बैठकमा सहभागी जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीले बैठक बहिस्कार गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समिति संयोजक लीलाधर अधिकारीले बैठकमा सुरक्षाका उपाय अवलम्बन गर्दै निषेज्ञाको विकल्पमा जानुपर्ने प्रस्ताव सहित बैठक सुरु गरे पनि त्यसो नभएको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चौधरीले नोटबजारलाई बताए । विपद व्यवस्थापन समितिको बैठकको पहिलो पटक ५ दिनका लागि र दोस्रो पटक ३ दिनका लागि निषेधाज्ञा गर्ने प्रस्तावमा सबैले सहमति जनाए पनि सँधै निषेधाज्ञा सम्भव नहुने भएकाले बैठक बहिस्कार गरिएको उनले बताए ।

नोटबजारसँग कुरा गर्दै उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष चौधरीले भने, ‘समस्या परेकाले २ पटक गरेर ८ दिन निषेधाज्ञा गर्ने प्रस्तावमा सहमति जनाइयो । तर आजको बैठकबाट पनि निषेधाज्ञा हटाउने पक्षमा केही मेयरहरु नउभिए पछि बाध्य भएर बैठक बहिस्कार गरेका हौं ।’

चौधरीका अनुसार साउन ३२ देखि निषेधाज्ञा हटाएर सुरक्षाका उपाय अपनाउँदै जिल्लालाई सुचारु गराउनु पर्ने प्रस्ताव उद्योगी व्यवसायीले राखेका थिए । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी पनि स्थानीय उद्योगी व्यवसायीलाई मर्कामा पर्न नहुने भन्दै सुरक्षाका उपाय अवलम्बन गर्नु पर्ने पक्षमा थिए । ‘तर छलफलमा अधिकांसको बिचार विपरित केही नगरपालिका र गाउँपालिकाका प्रमुखले निषेधाज्ञालाई जोडबल गरेर पारित गराउन थाले पछि हामी बैठक छाडेर निस्किएका हौं’ चौधरीले भने ।

आर्थिक कृयाकलाप ठप्प भएको अवस्थामा भदौ १ देखि ५ गतेसम्म अझै निषेधाज्ञा थप गर्ने निर्णय हुन थाले पछि हामीले त्यसमा बिरोध जनाएका हौं । हामीले सुरक्षित तवरले तोकिएका मादण्ड पुरा गरेर व्यापार व्यवसायसँगै बजार खोल्दै लैजानु पर्छ भनेका थियौं, तर त्यो अवस्था आएन ।’

साउन २२ गते बसेको कोभिड संक्रमण नियन्त्रणका लागि गठित जिल्ला विपद व्यवस्थापन समितिको बैठकले साउन २५ देखि २९ गतेसम्म ५ दिनका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । २९ गते बसेको समितिको बैठकले थप ३ दिन अर्थात साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । आइतबार बसेको समितिको बैठकले निषेधाज्ञालाई आगामी भदौ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।