बुधबार रातिदेखि काठमाडौं उपत्यकामा एक साताका लागि लकडाउन

0
Shares

काठमाडौं उपत्यकाका तीनै जिल्लामा बुधबार बेलुका १२ बजेदेखि पुन लकडाउन गरिने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ ३ गते बुधबार रातिदेखि १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सुरक्षा समितिको बैठकले उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि लकडाउन लागू गर्ने निर्णय गरेको हो।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए पनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा लकडाउन गरिएको हो।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन भने सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मंगलबार मात्रै मुलुकभर हालसम्मकै सबैभन्दा बढी १ हजारबढी कोरोना संक्रमित भेटिएका छन् । हाल काठमाडौं उपत्यकामा मात्रै १ हजारबढी सक्रिय कोरोना संक्रमित भइसकेका छन् । नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।