बुक बिल्डिङमा सहभागी हुन योग्य संस्थागत लगानीकर्ताको सूची बनाउँदै धितोपत्र बोर्ड, आवेदन माग

0
Shares

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन इच्छुक संस्थागत लगानीकर्ताबाट आवेदन माग गरेको छ ।

बोर्डले बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो । बोर्डले गत साता मात्रै बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेको थियो ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू

योग्य संस्थागत लगानीकर्ताले बुक बिल्डिङ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुने स्वीकृति पाउनका लागि दश हजार रुपैयाँ शुल्क सहित आवेदन दिनुपर्नेछ । प्राप्त आवेदनको जाँचबुझ गरी बोर्डले योग्य संस्थागत लगानीकर्तालाई स्वीकृति दिनेछ ।

बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ताले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी हुन पाउने व्यवस्था भएकाले आवेदन माग गरिएको बोर्डले जनाएको छ । बोर्डले स्वीकृति दिएपछि योग्य लगानीकर्ताले बुक बिल्डिङ विधि मार्फत निष्काशन हुने आइपीओमा सहभागी हुन सक्नेछन् ।

बोर्डका अनुसार सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले आवेदन दिन सक्नेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।