अर्को एउटा विकास बैंकको अस्तित्व मेटिदै

0
Shares

एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफूमा गाभेर भदौ ७ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । योसँगै अर्को एउटा विकास बैंकको अस्तित्व मेटिने भएको छ ।

‘गत साता राष्ट्र बैंकबाट र साउन २८ गते कम्पनी रजिष्ट्ररको कार्यालयबाट विलय प्रकृयाका लागि स्वीकृति पाएको थियो । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबिलाई अन्तिम स्वीकृति दिएको थियो ।

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा विलय गरेको हो ।

२०७६ माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते आइतबार अन्तिम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले एकीकृत कारोबार सुरु गरी शेयर सूचीकरण प्रकृया पनि तत्काल अघि बढाउने जनाएको छ । भदौ अन्तिमसम्मा दोस्रो बजारमा कञ्चनको शेयरलाई एनएमबिमा रुपान्तरण गरी सूचीकरण गराउने योजना बैंकको छ ।

योसँगै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ताबराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् । शेयर सूचीकरण भए पश्चात कञ्चनको शेयरलाई एनएमबीमा रुपान्तरण गरी लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिनेछ ।

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।