चार लघुवित्तलाई गाभेको एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने

0
Shares

विभिन्न चार लघुवित्त संस्थाहरुलाई गाभेर विशाल बन्ने क्रममा रहेको एनआरएन लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि थप साधराण शेयर निष्काशन अर्थात एफपीओ गर्ने भएको छ ।

संस्थाले एफपीओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाबाट कम्पनीले एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । तर एफपीओको कित्ता भने खुलाइएको छैन् । 

एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो।

यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले स्थापनाको एक वर्षमा नै ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेर सबल बन्ने तयारी गरेको छ।

विशेष साधारण सभाले संस्थाको नाम र ठेगाना परिवर्तन गर्ने, कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने तथा संचालक चयन गर्ने  लगायतका एजेण्डा पारित गर्नेछ ।

संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूजी सहित १३० भन्दा बढि शाखा पुगेको छ । एक लाख सदस्य रहेको संस्थाले सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुनेछ। संस्थाले १ अर्ब पूँजी सहितको राष्ट्रियस्तरको लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।