नबिल बैंकले सेवा प्रभावकारी बनाउन सुरु गर्यो निःशुल्क टोल फ्री


नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकका सेवाग्राहीले नेपाल टेलिकम र एनसेल नेटवर्कमार्फत निःशुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा उपलब्ध गराइएको जनाएको छ । निःशुल्क सम्पक गर्न सकिने यो सेवा देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सकिनेछ ।

सातै दिन चौबिसै घण्टा टोल–फ्री नम्बर सञ्चालन हुनेछ भने दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्ने बैंकले जनाएको छ ।

यसका अलावा ग्राहकले बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । ग्राहकको सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको जनाएको छ ।

नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक–केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट २४ लाखभन्दा बढीलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार  १२ : ५५ बजे