काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ । सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा लिन चाहने ग्राहकको सङ्ख्या बढेपछि नयाँ लाइन जडानका लागि आवश्यक जानकारी दिने टेलिकमको १९८ नम्बरमा चाप बढेको हो । टेलिकमको सो नम्बरमा सेवाग्राहीको चाप बढेसँगै अनलाइन बाट पनि इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।
यसबाट एनटी फाइबरको नयाँ लाइन जडान गर्न चाहने ग्राहकलाई आवश्यक जानकारी लिन तथा सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध गराउनेबारे जानकारी लिन सक्नेछन् ।
त्यसैगरी, टेलिकमले एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ ।
https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ । ग्राहकले टेलिकमको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणाली मा लगइन गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।
नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत ५ हजार रुपैयाँ भन्दा कम अर्थात् ४ हजार ९९९ रुपैयाँमा३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न अन्य प्याकेजसमेत उपलब्ध छन् । तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि यस्ता प्याकेजमा आकर्षण देखिएको छ ।
पछिल्लो समय इन्टरनेट सेवाको मूल्य, उपलब्ध गति र सेवाको गुणस्तरलाई लिएर ग्राहकले विभिन्न सेवा प्रदायकका प्याकेजको तुलना गर्न थालेका छन् । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएका सस्तो दरका प्याकेजप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ । अन्य इन्टरनेट सेवा प्रदायकका प्याकेजको तुलनामा कम शुल्कमा सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका हुन ।








