नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (एनएएएमआई) ले बुधवार एनुअल नेपाल एआई स्कूलको आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यही पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित छ ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च एनुअल नेपाल एआई स्कूल हुने आयोजकको दाबी छ ।
एनएएएमआइका अनुसार एनुअल नेपाल एआई स्कूलले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ ।
कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा आयोजना हुँदैछ । यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन् । बिगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन् ।
“सानो ठाउँबाट ठूला परिबर्तन आउनसक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्रहरु जियोमेट्रिक डीप लर्निङ, फण्डामेण्टल मोडल्स एण्ड एप्लिकेशन र मोर्डन प्राक्टिसेजमा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।
एनएएएमआईका निर्देशक तथा अनुसन्धान वैज्ञानिक बिशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तराष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो । उनले भने, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पु¥याउनेछ ।”
एनएएएमआईका एजुकेशन आउटरीच प्रमुख अलोक खत्री भन्छन्, “एनुअल नेपाल एआई स्कूलले केवल शिक्षामात्र प्रदान गर्दैन, ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यवहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि प्राप्त हुन्छ ।”
कार्यक्रमलाई सफल बनाउन एफवान सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतले साझेदारी गरेका छन् । यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।
प्रतिक्रिया