बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध


बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीहरुलाई अनुरोध गरेको हो ।

पालिकाले स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन पनि सबै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो ।

स्थानीय उत्पादनको प्रबद्र्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

निर्णय अवेज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिइएको छ ।

नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूल खेतीमा आकर्षित गरी आम्दानीको स्रोत सुनिश्चित गर्न आयातित प्लास्टिकजन्य सामग्री निषेध गरिएको बताइन् ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।