बैंकहरुले निषेधाज्ञामा पनि ६ अर्बले कर्जा बढाए

0
Shares

कोरोना महामारिको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरेको अवस्थामा पनि बैंकरुमा कर्जाको माग आउन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना सुरु भएपछि १४ अर्ब रुपैयाँ बरावरको कर्जा बैंकहरुले दिएका छन् ।
 
चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुमा कर्जाको माग नै आउन सकेको थिएन । कोरोनाका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेकाले आर्थिक गतिविधि ठप्प भएको र उद्योग धन्दा बन्द भएको हुनाले पनि कर्जाको माग हुन सकेको थिएन । चालु आवको पहिलो महिनामा लकडाउन खुलेको हुनाले कर्जाको माग केही बढेको थियो । तर, लकडाउन खुलेको केही समयपछि सरकारले पुनः भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरेपनि कर्जाको प्रवाहमा केही सुधार आएको पाइएको छ ।
 
जारी लकडाउनका कारण आगामी सातामा भने कर्जा प्रवाहमा जटीलता आउन सक्ने देखिन्छ । यो अवधिमा बैंकहरुको निक्षेप पनि उत्तिकै बढेको छ । भदौ महिनाको दोस्रो साता अर्थात ५ गते देखि १२ गतेसम्ममा बैंकहरुले ५ अर्ब निक्षेप संकलन गरेर ६ अर्ब रुपैयाँ कजार प्रवाह गरेका छन् ।
 
उद्योग व्यवसायले पनि चालु पूँजी अभाव जुटाउन पनि कर्जाको माग गर्न थालेका हुन् । यो अवस्थामा नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाबाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।
 
साउनको महिनाको २४ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका बैंकहरुले भदौ महिनाको १२ गतेसम्ममा नै १४ अर्ब कर्जा लगानी गरीसकेको अवस्था छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएका कारण निक्षेप अन्यत्र जाने आंकलन गरिए पनि निक्षेप थपिने क्रम भने रोकिएको छैन ।
 
भदौको दोस्रो साता अर्थात भदौ १२ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।