व्यक्तिगत प्यान अनलाइन मार्फत लिन सकिने

0
Shares

व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनलाइन मार्फत पनि लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले भदौ १७ गते बुधबार देखि डिजिटल प्रक्रियावाट प्यान नम्बर दिने भएको हो ।

कोरोना महामारीका कारण अधिकासं जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ । करदाता यस्तो अवस्थामा कार्यालयसम्म पुगेर प्यान लिन नसक्ने भएकाले अनलाईन मार्फत दिने व्यवस्था गरेको आन्तरिक राजस्व विभागका उप महानिर्देशक मुक्तीप्रसाद पाण्डेले बताए ।

“प्यान नम्बर लिन चाहने व्यक्तिले विभागको वेबसाइट मार्फत वा मोवाइल एप्लीकेसन मार्फत आवेदन दिन सक्नेछन,” पाण्डेले भने,“अहिलेको अवस्थामा व्यक्तिगत विवरण र नागरिकताको फोटो अपलोड गर्नु पर्नेछ, यसरी व्यक्तिगत विवरण भरेपछि प्यान नम्बर उपलब्ध हुनेछ ।” यसरी उपलब्ध भएको प्यान नम्बर प्रयोग गर्न सकिने उनले बताए ।

तर, कोरोना महामारीको अवस्था सहज भएपछि अनलाइन मार्फत लिएको प्यान नम्बर र सक्कली नागरिकता सहित कर कार्यालयमा सम्पर्क गरेपछि प्यान प्रमाणपत्र पाइने समेत उनले बताए । विभागले आफ्नो वेबसाइटलाई अध्यावधिक गरेर विगतको तुलनामा धेरै एड्भान्स समेत बनाएको छ । कर छुट देखि तिर्न बाँकी रहेको विवरण सम्म वेबसाइट मार्फत नै हेर्न सकिने व्यवस्था गरेको छ । त्यसका साथै कर चुक्ताको प्रमाणपत्र समेत वेबसाइट मार्फत लिन सकिने व्यवस्था विभागले गरेको छ।

अहिलेसम्ममा करिब ३४ लाखले स्थायी लेखा नम्बर लिएका छन । यस मध्ये व्यक्तिगत रुपमा प्यान लिनेको संख्या २० लाख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।