रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको साधारण शेयर (आईपीओ) भदौ २३ गतेदेखि कारोबारमा आउने भएको छ ।
कम्पनीले भोलि सोमबार नेप्सेमा शेयर सूचीकरणको तयारी गरेसँगै मंगलबारदेखि कारोबार खुल्ने पक्का भएको हो । सोमबार सूचीकृत भएसँगै मंगलबारदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्सेमा कम्पनी अध्ययन र विवरण अभिलेखको काम आइतबार नसकिएकाले सोमबार मात्रै कम्पनीको शेयर सूचीकरण हुने नोटबजारलाई जानकारी दिए ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको छ ।
नेप्सेले हरेक कम्पनीलाई प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म पहिलो कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।
यसअनुसार कम्पनीको शेयर यहि रेञ्जबाट पहिलो कारोबार सुरु हुनेछ । इन्स्योरेन्सको शेयर कारोबारका लागि नेप्सेले आरएलआई (RLI) कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले जारी गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा शुक्रबार नै शेयर जम्मा गरिसकेको छ ।
भदौ ४ देखि ८ गतेसम्म इन्स्योरेन्सले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपीओ) मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
उक्त आईपीओ ५ लाख ६७ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए । आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन गरेकोमा २० हजार ५०९ जना आवेदकको हात खाली भएको थियो भने १ हजार ९५५ वटा आवेदनहरु रद्द भएका थिए ।
कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । यससँगै रिलायन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटल कमलपोखरी मार्फत हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया