नेप्से परिसूचक सात अङ्कले घट्यो


धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३३ अङ्कले घटेर २५८८.६२ बिन्दुमा कायम भएको छ ।

बिहबिार दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता सेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् ।

बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड ६.६५ प्रतिशतले बढेको छ ।

त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स ९.३९, खानिखोला हाइड्रोपावर ९.१५ र रिलायन्स फाइनान्सको सेयर मूल्य ७.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार  १६ : ५७ बजे