बैंक तथा वित्तीय संस्थाले छुट्टै ई–केवाइसी पोर्टल बनाउनुपर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ ।

केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी विवरण विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने र सोही माध्यमबाट ग्राहकको पहिचान तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि छुट्टै ई–केवाइसी पोर्टल बनाउनुपर्नेछ । 

राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान फाराम भर्नुको साथै विद्युतीय माध्यमबाट खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ ।

बैंकका अनुसार विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा सम्पुष्टि गरिने विधि तय गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ ।

यस्तै, सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले नयाँ खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने छ ।

बैंकका सञ्चालकलाई नैतिक शिक्षा

बैंक तथा वित्तीय संस्थाका सञ्चालकले यदाकदा अशिष्ठ व्यवहार देखाएको पाइएपछि केन्द्रीय बैंकले आज शिष्ट भाषा बोल्न र कार्यवातावरण नबिग्रान भनेको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको बुँदा नं ६२ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पदीय मर्यादा कायम राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ “सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्नेछ, संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।