खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था थप गरेको छ । बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली लागू गर्दै यस्तो व्यवस्था थप गरेको हो।

बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन ) भदौ २४ गतेबाट लागू भएको जनाएको छ ।

उक्त संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । बिद्घमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।

उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ भदौ २०७७, बुधबार  १६ : २२ बजे