काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । अमेरिकाले ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरेको हो ।
अमेरिकाले सहयोग रोक्दा नेपाल पनि प्रभावित हुने अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार अमेरिकाले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता वितरण गरेको थियो ।
२० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएका हुन् ।
यसबाट विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुनसक्ने छ । अमेरिकाले स्वास्थ्य क्षेत्रमा गरिब देशहरुलाई दिँदै आएको सहयोग पनि बन्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने सक्ने छ ।
प्रतिक्रिया