निषेधाज्ञाकै अवस्थामा लक्ष्यको ७७% राजश्व संकलन, भदौमा १७ अर्ब

0
Shares

आन्तरिक राजस्व विभागले भदौ महिनाको २५ गतेसम्म झण्डै १७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७७ प्रतिशत हो ।

विभागका अनुसार भदौ २४ गतेसम्ममा १२ अर्ब हाराहारी राजश्व संकलन भएकोमा २५ गते करिब ५ अर्ब राजश्व उठेको छ । यो महिनामा १७ अर्ब हाराहारी रावश्व संकलन भएको विभागका एक अधिकारीले जानकारी दिए। विभागले भदौमा २१ अर्ब ९८ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

आन्तरिक राजस्व विभागले भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्ने समयावधि कायम गरेको थियो। सरकारले देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिरहेको अवस्था छ भने काठमाडौं उपत्याकामा गत भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा भदौ २५ गतेबाट मात्र खुकुलो गरिएको थियो ।

पछिल्लो समयको मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने पहिलो म्याद बिहीबार (भदौ २५) रहेको थियो । विभागका एक अधिकारीले निषेधाज्ञाकै अवस्थामा पनि १७ अर्ब राजश्व संकलन हुनु सन्तोषजनक रहेको बताए । उनले साउन महिनामा ३५ अर्ब तथा भदौमा १७ अर्बगरी चालु आर्थिक वर्षको दुई महिनामा ५२ अर्ब रुपैयाँ राजश्व संकलन भएको नोटबजारलाई जानकारी दिए । विभागले साउन र भदौमा ५७ अर्ब राजश्व उठाउने लक्ष्य थियो । दुई महिनामा विभागले लक्ष्यको ९१ प्रतिशत बढी राजश्व उठाएको छ ।

विभागले कर भुक्तानीको समयावधि नथपेककाले अब कर चुक्ता आउनेलार्ई नियमानुसार जरीवाना लिइने पनि ति अधिकारीले बताए । निजीक्षेत्रले समयावधि बढाउन आग्रह गरे पनि सरकारले समय थप गरेको थिएन । अब करदाताले मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जुनमा दर्ता भएको हो, सोही बमोजिम नियमानुसार विलम्ब शुल्क, ब्याज र जरीवानासहित करदाताले कर चुक्ता गर्नुपर्नेछ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधवारसम्म सरकारी खातामा ८९ अर्ब ६९ करोड आम्दानी भएको छ भने यसअवधिमा सरकारले ४९ अर्ब ५८ करोड बजेट खर्च गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ भदौ २०७७, शुक्रबार  ०७ : ३९ बजे