आफ्नै निर्णयबाट पछि हटे ट्रम्प, अमेरिकी अनुदान सहायता नरोकिने


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै निर्णयबाट पछि हटेका छन् । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका ट्रम्पले निर्णय स्थगित गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो । ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ ।

 

प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार  ०९ : २१ बजे