नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिएका हुन ।
मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने सांसद डा महतले खाँचो औँल्याएका हुन ।
सांसद डा महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे । “आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो ।
दुई महिनाभित्रै समस्या टुङ्गो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ”, उनले भने, “कहीँ कतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको बिरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन ।”
सांसद डा महतले मुलुकको आर्थिक विकासलाई तीव्रता दिन विद्यमान ऐन कानुनलाई समयसापेक्ष बनाई एकरुपता दिएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “लगानीका लागि विश्वव्यापी प्रतिष्पर्धा छ । कानुनलाई समयसापेक्ष नबनाए लगानी भित्रिन समस्या हुन्छ । लगानीप्रतिको कानुनलाई नसच्याउने हो भने स्वदेशी लगानी नहुने र विदेशी लगानी पनि नभित्रिने खतरा रहेकाले लगानीसम्बन्धी विधेयक चाँडै संसदबाट पारित हुन्छ ।” उनले विधेयक पारित गरेपछि सहज रुपमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेतर्फ सङ्केत गर्र्दै उहाँले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रुपमा राजनीतिकरण गर्नु नहुने बताए । सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए।










प्रतिक्रिया