सिडिएससीले लञ्च गर्यो मेरो शेयर एप, लगानीकर्ताले केही दिनपछि मात्र डाउनलोड गर्नसक्ने


केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मेरो शेयरको बेटा भर्सनको मोबाइल एप गूगल प्लेस्टोरमा अपलोड गरेको छ ।

गूगल प्लेमा अपलोड भएको एप रिभ्यु चरणमा रहेकाले अहिले नै लगानीकर्ताले डाउनलोड गर्न सक्दैनन् । गूगलले एप भेरिफाई गरेपछि मात्र ‘प्ले स्टोर’ मा एप उपलब्ध हुने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नोटबजारलाई बताए ।

“यसअघि गूगलले तत्काल एप रिभ्यु गरेर अपलोड गर्दै आएकोमा अहिले केही समय लाग्ने भएकाले तत्काल लगानीकर्ताले एप डाउनलोड गर्न नमिल्ने देखिएको छ” सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले नोटबजारसँगको कुराकानीमा भने, “केही दिनमा गूगलले भेरिफाई गरेपछि लगानीकर्ताले गूगल प्लेबाट मेरो शेयर (बेटा) एप डाउनलोड गर्न सक्नु हुनेछ ।”

सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणलाई लक्षित गर्दै परीक्षणका लागि मोबाइल एप लञ्च गरेको हो ।

सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एपमा अहिले आस्वा सेवा उपलब्ध हुने छैन । बेटा भर्सनको एपमा पोर्टफोलियो हेर्ने, शेयरको विद्युतीय हस्तान्तरण (इडिआइएस) लगायतका सेवा परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ ।

तत्काल साधारण शेयर निष्काशन नहुने अवस्थालाई हेरेर यो सुविधा एपमा समावेश नगरिएको न्यौपानेले बताए । केही समयको परीक्षण पश्चात बेटा भर्सनलाई हटाएर नियमित भर्सनको एप अपडेट भएपछि मात्र लगानीकर्ताले आस्वा सहित सबै सेवा पाउनेछन् ।

उक्त मोबाइल एप हाललाई एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्र उपलब्ध हुने बताइएको छ । परीक्षण पूरा गरी पूर्ण रुपमा एप सञ्चालनमा आएपछि मात्र एप्पलको एप स्टोरमा पनि एप उपलब्ध हुने सिडिएससीले जनाएको छ ।

तस्बिरमा उल्लेख गरिए अनुसारको एप मात्र डाउनलोड गर्न पनि सिडिएससीले आग्रह गरेको छ ।

एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न लगानीकर्तालाई आग्रह गरिएको छ । अन्य बेनामे र उस्तै देखिने एप भेटिएको खण्डमा त्यस्ता एप डाउनलोड गरी प्रयोग गरे लगानीकर्ताको विबरण सुरक्षित नहुने बताइएको छ ।

साथै कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको पनि सिडिएससीले प्रष्ट पारेको छ ।

पछिल्लो समय कोरोना संक्रमणका कारण दक्षिण एशियाली मुलुकमा जारी बन्दाबन्दीका कारण धेरै एप अपलोड हुन थालेपछि गूगलले सबै एपलाई रिभ्युमा राखेर निश्चित समयपछि मात्र डाउनलोड गर्न दिँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।