रिलायन्स लाइफको शेयरमूल्य कतिसम्म पुग्ला ? यस्तो छ, जीवन बीमा कम्पनीहरुको एक महिनाको उतार-चढाव

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ८ जीवन बीमा कम्पनीमध्ये एक साता अघिमात्र सूचीकरण भई कारोबारमा आएको रिलायन्स लाइफ इन्स्योरेन्सलाई छाड्ने हो भने सूर्या लाइफ इन्सायेरेन्सको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।

भदौ १ गते यता सूर्या लाइफ इन्सायेरेन्सको शेयरमूल्य प्रतिकित्ता ३९.५७ प्रतिशत अर्थात १८२ रुपैयाँले बढेको छ । भदौ १ गते प्रतिकित्ता ४६० मा कारोबार भएको कम्पनीको शेयर ३१ गते ६४२ रुपैयाँ पुगेको हो ।

सबैभन्दा कम शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको शेयर ४ प्रतिशत अर्थात ५४ रुपैयाँले बढेर १ हजार ४०४ रुपैयाँमा बुधबार अन्तिम पटक कारोबार भएको छ । भदौ १ गते सो कम्पनीको १ हजार ३५० रुपैयाँमा शेयर खरीदबिक्री भएको थियो ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ५.८६ प्रतिशत अर्थात ८५ रुपैयाँले बढेर १ हजार ५३६ रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयरमूल्य नै जीबन बीमा कम्पनीमध्ये उच्च मूल्य हो ।

यस अवधिमा नेशनल लाइफको शेयरमूल्य १६.७७ प्रतिशत अर्थात ११२ रुपैयाँ वृद्धिभई ७८० पुग्दा एशियन लाइफको पनि १८.९४ प्रतिशत (१२१ रुपैयाँ) ले बढेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ ।

बुधबार प्राइम लाइफको ६८३ रुपैयाँमा शेयर कारोबार भएको छ । भदौ १ गते ५४७ रुपैयाँ प्रतिकित्ता कारोबार भएको यस कम्पनीको एक महिनामा १३६ रुपैयाँ अर्थात २४.८६ प्रतिशतले मूल्य बढेको हो । गुराँस लाइफको शेयरमूल्य पनि ६५४ रुपैयाँ पुगेको छ । यस कम्पनीको ३७.६८ प्रतिशतले बढेको हो ।

रिलायन्स लाइफको कति पुग्ला?

रिलायन्स बाहेक सबैभन्दा कम शेयरमूल्य रहेको सूर्या लाइफको प्रतिकित्ता ६४२ रुपैयाँ कायम भएको छ। एक सात अघि अर्थात भदौ २३ गते ३२२ मा पहिलो शेयर कारोबार भएको रिलायन्स लाइफको ७ कारोबार दिन निरन्तर शेयरमूल्य बढिरहेको छ । यद्यपी यो कम्पनीको शेयर मूल्य अझै सबैभन्दा कम रहेको छ।

कम्पनीको बुधबार अन्तिम पटक प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भएको छ । नयाँ जीबन बीमा कम्पनीको रुपमा सबैभन्दा पहिला आइपीओ जारी गरेर सूचीकृत गरेको यस कम्पनीको प्रगति राम्रै भएकाले अन्य पुराना कम्पनीको हाराहारीमा शेयर मूल्य कायम हुनसक्ने देखिन्छ ।

यद्यपी कम्पनीको शेयर कारोबार भएको कित्ता हेर्ने हो भने अझै ठूलो परिमाणमा शेयर कारोबारमा आउन सकेको छैन । अन्य पुराना कम्पनी भन्दा यो कम्पनीको मूल्य माथि पुग्ने आंँकलन लगानीकर्ताहरुमा पाइन्छ ।

पहिलो दिन भदौ २३ अर्थात सेप्टेम्बर ८ तारिखमा ३२२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य ८६.३४ प्रतिशतले अर्थात एक कित्तामा २७८ रुपैयाँ मूल्य बढेर ६०० पुगेको छ । पहिलो दिन १६० कित्ता शेयर कारोबार भएको कम्पनीको सातौं दिनमा आइपुग्दा १८ हजार ३९० कित्ता शेयर कारोबारमा आएको छ ।

हालसम्म कम्पनीको २४ हजार ७० कित्ता मात्र शेयर कारोबार भएको छ । जबकी कम्पनीले जारी गरेको ६३ लाखमध्ये कर्मचारी र म्युचुअलफण्डलाई छुट्टाएर ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो। आइपीओ निष्काशनको ठूलो परिमाणमा शेयर कारोबारमा आउन बाँकी नै देखिन्छ । कारोबार कम हुँदा पहिलो दिन साढे ५ प्रतिशत र अन्य दिनमा सर्किट मूल्यमा मूल्य बढिरहेको छ ।

पहिलो दिन ५२ हजार ४८० रुपैयाँको शेयर कारोबार भएको कम्पनीको शेयर सातौं कारोबार दिनमा आइपुग्दा १ करोड १० लाख २४ हजार ८८० रुपैयाँ कारोबार भएको छ ।

 

गत असारसम्ममा यस्तो छ मुख्य सूचकको तुलनात्मक अवस्थामा

असार मसान्तमा कायम भएको प्रतिशेयर आम्दानी र बुधबारको बजार मूल्यका आधारमा मूल्य आम्दानीको अनुपातमा हेर्दा प्राइम लाइफको पिइ रेसियो सबैभन्दा कम ५१.७० गुणा छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको सबैभन्दा धेरै २५८ गुणा देखिन्छ । एशियन लाइफको ८४, गुराँस लाइफ १२९, नेपाल लाइफको १४५, नेशनल लाइफ ६१, सूर्या लाइफ ५२ र रिलायन्स लाइफको २०३.३९ गुणा रहेको छ ।

गत असार मसान्तमा यी कम्पनीहरुको प्रतिशेयर आम्दानी एशियन लाइफको ९.०४ रुपैयाँ, गुराँस लाइफको ५.०४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.९५, नेपाल लाइफ ९.६५, नेशनल लाइफ १२.६९, प्राइम लाइफ १३.६९, सूर्या लाइफको १२.१९ र रिलायन्स लाइफको २.९५ रुपैयाँ छ ।

खुद प्रिमियम संकलनका आधारमा गत आव २०७६।७७मा नेपाल लाइफले २७ अर्ब ३४ करोड बढी संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १४ अर्ब ८३ करोड, नेशनल लाइफ ९ अर्ब ११ करोड, एशियन लाइफ ४अर्ब ५४ करोड, प्राइम लाइफ ३ अर्ब २६ करोड, सूर्या लाइफको २ अर्ब ८४ करोड, गुराँस लाइफ २ अर्ब २० करोड र रिलायन्स लाइफको १ अर्ब ३६ करोड रहेको छ ।

प्रतिशेयर नेटवर्थका आधारमा नेपाल लाइफको सबैभन्दा धेरै १६३ रुपैयाँ छ । चुक्ता पूँजीको आधारमा सबैभन्दा धेरै ५ अर्ब ४९ करोड पूँजीभएर पनि सबैभन्दा धेरै नेटवर्थ हुनु कम्पनीको सबल पक्ष हो ।

यस्तै प्राइम लाइफको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ, नेशनल लाइफ १३३, सूर्या लाइफ १३१, एशियन लाइफ १२७, लाइफ इन्स्योरेन्स कर्पोरेसन १२५, गुराँस लाइफको १२० र रिलायन्स लाइफको १०९ रुपैयाँ प्रतिशेयर नेटवर्थ कायम भएको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।