सेयर बजारमा ७५ अंकको सुधार, कारोबार रकम साढे ६ महिना यताकै उच्च


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । पछिल्ला २ सातादेखि बढ्दो क्रममा देखिएको नेप्से परिसूचक आइतबार मात्रै ७५ अंकले बढेको हो । 

आइतबारको सुधार पछि नेप्से परिसूचक करिब ५ महिना यताकै उच्च विन्दुमा २८९०.२८ मा पुगेका छ । त्यसैगरी आइतबारको कारोबार रकम पनि साढे ६ महिना यताकै उच्च रहेको नेप्सेले जनाएको छ ।    

नेप्से परिसूचक ७५.२४ अङ्कले बढेर २८९०.२८ को विन्दु कायम भएको हो । आइतबार विभिन्न ३ सय दुई कम्पनीको दुई करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साता नेप्सेका कारोबार भएको अन्तिम दिन बिहीबारको तुलनामा धेरै हो । गत साताको बिहीबार नेप्सेमा ११ अर्ब भन्दा धेरैको कारोबार भएको थियो । 

आइतबार कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह ४.३१, होटल तथा पर्यटन ४.२८ र वित्त समूह ४.२८ प्रतिशतले बढेको छ । बैंकिङ २.५३, विकास बैंक ३.८८, जलविद्युत् १.९८, लगानी ३.०३, लघुवित्त १.३५, निर्जीवन बीमा ३.४१, व्यापार १.०६ र अन्य समूह १.५१ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ८ लाख ७३ हजार पाँच सय ७६ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।