घोडीघोडा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, तीन दिनमा ३० गुणा बढी आवेदन

0
Shares

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओको निष्कासनको तेस्रो दिनसम्म ३० गुणा बढी आवेदन परेको शेयर निष्कासन तथा बित्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सोमबारसम्म २ लाख १३ हजार ८०० आवेदन परेका छन् । जसमा ३७ लाख ५१ हजार कित्ता सेयरका लागि आवेदन दिइएको छ । यो कुल निष्काशित सेयरको ३०.१० गुणाभन्दा बढी हो ।

शेयर खरिद आवेदनको आज मंगलबार अन्तिम दिन भएकाले यो अनुपात अझै बढ्न सक्ने देखिन्छ ।

कुल निष्काशित एक लाख ३२ हजार ६०० कित्ता शेयरमध्ये एक हजार ३८० कित्ता लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

यस्तो छ वित्तीय प्रक्षेपण

हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। घोडीघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।

आईपिओबाट संकलन भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।