अमेरिकाले शुक्रबारदेखि नयाँ भन्सार शुल्क लगाउने, कुन देशलाई कति लाग्ने भयो कर ?


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुल घोषणा गरेका छन् । ट्रम्पले शुक्रबारदेखि लागु हुने गरी नयाँ भन्सार शुल्क तोकेका हुन् ।

ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै भन्सार महसुल’ (रेसिप्रोकल भन्सार महसुल) लगाउने घोषणा गरेका छन् । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।

यस्तै, उनले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।

ट्रम्पका अनुसार अमेरिकामा आयात हुने सबै सामानमाथि १० प्रतिशत आधारभूत भन्सार महसुल लागू हुनेछ। आधारभूत भन्सार शुल्क अप्रिल ५ को राति १२ः०१ बजेबाट लागू हुनेछ, भने ‘जस्तालाई तस्तै भन्सार महसुल’ अप्रिल ९ को राति १२ः०१ बजेबाट लागू हुनेछ।

राष्ट्रपति ट्रम्पले मोटरहरूमाथि २५ प्रतिशत शुल्क घोषणा गरेका छन् जुन एप्रिल ४ तारिखबाट कार्यान्वयनमा आउने छ।

यद्यपि अमेरिका–मेक्सिको–क्यानडा (यूएसएमसीए) स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत उत्पादन गरिने मोटर र त्यसका पार्टपुर्जाको हकमा भने अमेरिकी भन्सार अधिकारीहरूले मूल्याङ्कन नगरुन्जेल त्यो शुल्क लागु हुने छैन।

अमेरिकाले २४० अर्ब डलर बराबरका करिब ८० लाख कार बर्सेनि आयात गर्ने गरेको छ। उनले क्यानडाको ऊर्जा आयातमा १० प्रतिशत शुल्क लगाएका छन् भने मार्च १२ मा नै अमेरिकाले संसारका जुनसुकै देशबाट गरिने स्टील र आलुमिनियम आयातमा २५ प्रतिशत शुल्क घोषणा गरेका थिए ।

त्यसले विशेष गरी क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया, भियतनम र जापानलाई प्रभावित पार्ने बुझिएको छ ।

सन् २०२४ मा अमेरिकालाई ९०० अर्ब डलरभन्दा बढीको व्यापार घाटा भएको विवरण छ। त्यसैले आन्तरिक उत्पादन बढाउन उनले करको सहायता लिएको देखिएको छ । दीर्घकालमा शुल्कहरूले अमेरिकी उत्पादनलाई टेवा पु¥याउने, जागिर जोगाउने, करबापत हुने आम्दानी बढाउने र आर्थिक वृद्धिलाई उक्साने ट्रम्पले बताउने गरेका छन्।

तर, शुल्कहरूले अमेरिकी उपभोक्ताका लागि मूल्य बढाउने र लागत बढ्न गई अमेरिकी उत्पादनहरू महँगिने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्। अरू देशहरूले लगाउने जबाफी शुल्कका कारण अमेरिकी निर्यातकर्ताहरूलाई पनि असर पार्ने अर्थशास्त्रीहरू बताउँछन्।

प्रकाशित मिति: २१ चैत २०८१, बिहीबार  ०८ : ५४ बजे