सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई २ लाख सहयोग


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख प्रदान गरेको छ ।

बैंकले १८ औं बार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । संस्थामा हाल २७ जना एच .आई. भी संक्रमित बालबालिका आश्रित रहेका छन् । बिपन्न समुदायमा जन्मेका एच. आई. भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।

संस्था संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहमा २ लाखको चेक संस्थाका संचालक राज कुमार पुन लाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका संचालक पुनले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले जानकारी गराएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।