मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको अंश ४.२० प्रतिशत, आर्थिक अवस्था कस्तो ?


काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको अंश ४.२० प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार यस प्रदेशको कुल जीडीपी प्रचलित मूल्यमा २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रको तुलनामा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान समेत केन्द्रिय बै.कले गरेको हो ।

राष्ट्रिय कुल कृषि क्षेत्रमा यस प्रदेशको अंश ५.५१ प्रतिशत, उद्योग क्षेत्रमा ३.०२ प्रतिशत र सेवा क्षेत्रमा ३.७६ प्रतिशत रहेको छ । त्यस्तै, कर्णाली प्रदेशको आन्तरिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत, उद्योग क्षेत्रको १०.०७ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत रहेको छ ।

कृषि र पशुपन्छी उत्पादनको अवस्था

प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन ०.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ७.५० प्रतिशतले घटेको थियो । प्रमुख खाद्य बालीहरूको उत्पादनमा भने केही सुधार देखिएको छ ।

धान बालीको उत्पादन ६.७६ प्रतिशत, मकैको उत्पादन ०.२५ प्रतिशत, गहुँको उत्पादन २.५० प्रतिशत, कोदोको ०.३४ प्रतिशत, जौको १३.७४ प्रतिशत र फापरको उत्पादन २.५१ प्रतिशतले बढेको छ । यद्यपि, तरकारी तथा बागबानी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमशः ३.७६ प्रतिशत र ४.०५ प्रतिशतले घटेको देखिन्छ ।

पशुपन्छीजन्य उत्पादनतर्फ दूध उत्पादन १५.८३ प्रतिशत, अण्डा ४.०१ प्रतिशत र ऊन उत्पादन ४४.६३ प्रतिशतले बढेको छ भने मासु उत्पादन २१.०८ प्रतिशत र छाला उत्पादन १४.१४ प्रतिशतले घटेको छ ।

यता, काठ र दाउराको उत्पादनमा केही कमी आए पनि पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना लागू भएपछि वन पैदावार सङ्कलन कार्य सुचारु भएको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग तथा बैंक–वित्तीय क्षेत्रको गतिविधि

समीक्षा वर्षमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३०.९८ प्रतिशत रहेको छ । जसमा राडीपाखी उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ६६.६७ प्रतिशत र प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता सबैभन्दा कम १०.१९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ७.५२ प्रतिशत पुगेको छ । समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप २२.०३ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा ९.७९ प्रतिशतले बढेर ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सबैभन्दा बढी कर्जा प्रवाह उपभोग्य क्षेत्रमा भएको समेत केन्द्रय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । यस प्रदेशमा कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ ।

पर्यटन, पूर्वाधार र रोजगारी

यस आर्थिम वर्षमा कर्णालीमा भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा भने २७.६८ प्रतिशतले कमी आएको छ । भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटक क्रमशः ४६.३९ प्रतिशत, ६७.६० प्रतिशत र ३९.३९ प्रतिशतले घटेका छन् ।

पूर्वाधारतर्फ पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना जस्ता राष्ट्रिय गौरवका तथा रणनीतिक महत्त्वका आयोजनाहरूको निर्माण कार्यले गति लिइरहेको छ । साथै, दैलेख जिल्लामा भइरहेको पेट्रोलियम अन्वेषण परियोजनाको कार्य सकारात्मक रूपमा अगाडि बढिरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । रोजगार प्रवद्र्धन कार्यक्रम तथा वैदेशिक रोजगारीका लागि कर्णालीबाट ३० हजार ४ सय ९० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्षको समीक्षा अवधिमा कर्णाली प्रदेश सरकारको कुल खर्च २० अर्ब ११ करोड ६ लाख रुपैयाँ भएको छ भने कुल राजस्व परिचालन २०.४१ प्रतिशतले वृद्धि भई १० अर्ब ८८ करोड ८ लाख रुपैयाँ सङ्कलन भएको छ । आगामी आर्थिक वर्षमा सरकारले कृषि प्रवद्र्धन, “मेक इन कर्णाली” “मेड इन कर्णाली” अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।