अपि पावरको ४७ प्रतिशत हकप्रद कात्तिक १४ देखि खुल्ने


अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशनको मिति तय गरेको छ । अपिले आगामी कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।

अपिले धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद निष्काशनका लागि आवेदन दिएकोमा लगानी जुटाउनुको कारण माग गर्दै बोर्डले दामो समय पछि पहिलो चरणमा ४७ प्रतिशत शेयर निष्काशनको अनुमति दिएको थियो ।

बोर्डले दिएको अनुमति अनुसार अपिले १०० कित्ता बराबर ४७ कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि गत चैत १ गते शेयरधनी दर्ता पुस्तिका बन्द भईसकेको छ । चैत १ गतेभन्दा पहिले कायम शेयरधनीले मात्र अपिको हकप्रदमा आवेदन गर्न पाउने छन् । कात्तिक १४ गते निष्काशन सुरु हुने हकप्रदमा मंसिर ४ गतेसम्ममा आवेदन दिनु पर्ने बताइएको छ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने हकप्रदमा नक्सालस्थित क्यापिटलको कार्यालय, थापाथलीस्थित अपि पावरको कार्यालय, ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंकका निश्चित शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

यसका अलावा मेरो शेयरबाट पनि आवेदन गर्न सकिनेछ भने मेरो शेयर नलिएका शेयरधनीले आफ्नो खाता रहेको बैंकमा पुगेर आस्वा प्रणालप्मार्फत पनि आवेदन गर्न सक्नेछन् ।

१ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको अपीले ४७ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुर्याउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।