हाइटेक इन्टरनेशनलसँग पौने २ अर्ब बिगो माग गर्दै राजश्व अनुसन्धानले दर्ता गर्यो मुद्धा


भन्सार चोरी पैठारी गरेका माल वस्तुको भुक्तानी गर्न गैर कानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएको भन्दै राजश्व अनुसन्धान विभागले हाइटेक इन्टरनेशनलका बिरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले गैरकानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएर विदेशी विनियमको अपचलन गरेको निष्कर्ष सहित झण्डै पौने २ अर्ब रुपैंया बिगो असुल गर्नु पर्ने औंल्याएको छ ।

विभागले स्थायी लेखा नम्बर ३०५०३७८९५ रहेको हाइटेक इन्टरनेशनलका सञ्चालक हरिकुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैंया विगो असुल गरी विगोको तीन गूणासम्म जरिवाना र ३ वर्ष कैद सजाय समेत मागदावी गर्दै असोज २२ गते बिहीबार काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो ।

विभागका अनुसार हाइटेक इन्टरनेशनलका सञ्चालक हरिकुमार श्रेष्ठले भन्सार विन्दुबाट लुकाई छिपाई माल सामान नेपाल भित्र्याएका थिए । यसरी भित्र्याएका सामानको यथार्थ कारोबार नदेखाई वास्तविक कारोबारको छुट्टै लेजर अभिलेख राखेर राजश्व चुहावट गरेको विभागको भनाई छ । त्यसरी ल्याइएका माल सामानको भुक्तानीका लागि बैंकको स्वीकृति नलिई गैरकानुनी रुपमा विदेशमा रकम पठाएर विदेशी मुद्राको अपचलन गरेको विभागको निष्कर्ष छ ।

यसरी अवेध कारोबार गर्ने क्रममा १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैंया बराबरको रकम विदेश पठाएकाले विदेशी विनिमय ऐन २०१९ को दफा ४ को उपदफा ८(२) र दफा ९ (ग) बमोजिम कसुर गरेको विभागको भनाई छ । सोही ऐनको दफा १७ (१) अनुसार तीन गूणासम्म सजाय र दफा १७ (८) र १७ (९) बमोजिम कैद सजाय समेत माग गर्दै काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।