८८ वटा कम्पनीले किन पाएनन् आइपिओ निष्कासन अनुमति ?


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८८ वटा कम्पनीको ५५ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) पाइपलाइनमा छ । ती कम्पनीहरूले विगत २ वर्षभन्दा बढी समयदेखि निष्कासन अनुमति पर्खिरहेका छन् ।

समयमा आइपिओ निष्कासन गरेर बजारबाट पैसा संकलन गर्न नपाउँदा कम्पनीहरूलाई बैंकको किस्ता बुझाउनसमेत धौधौ परेको छ ।

आइपिओ निष्कासन गर्न नपाउँदा बजार विस्तार हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले बताए ।

‘आइपिओ निष्कासन रोकिँदा आयोजनाहरू नै प्रभावित बनेका छन् । इक्विटी हालेर आयोजना अघि बढाउन सकिएको छैन,’ दुलालले भने, ‘आइपिओबाट आउने पैसा कम्पनीहरूले आयोजना निर्माणमा खर्च गर्ने गरी कार्ययोजना बनाउने गर्छौं । तर, समयमा निष्कासन नहुँदा समस्यामा पर्ने गरेका छौँ ।’

समयमा आइपिओ निष्कासन नहुँदा कम्पनीहरूलाई बैंकले ऋण पत्याउन छाडेको र ऋण लिएकाहरूलाई पनि बैंकले बारम्बार ताकेता गरिरहेको उनले बताए ।

किन अड्कियो आइपिओ निष्कासन ?

२०८० पुसमा बोर्ड अध्यक्षविहीन भएपछि रोकिएको आइपिओको अनुमति प्रक्रिया अझै सहज रूपमा सुरु हुन सकेको छैन ।

लामो समयसम्म अध्यक्षविहिन रहेको बोर्डमा सरकारले गत मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

तर, बोर्डले नेतृत्व पाएको यतिका समय भइसक्दा पनि आइपिओ निष्कासनमा भने सुस्तता देखिएको छ ।

आइपिओ निष्कासनका लागि अपडेटेड विवरण पठाउनेलाई मात्र अनुमति दिइएको धितोपत्र बोर्डका सूचना अधिकारी निरञ्जय घिमिरेले बताए ।

कुनै–कुनै कम्पनीले आइपिओ निष्कासन अनुमति पाइसकेको बताउँदै घिमिरेले भने, ‘जति पनि पाइपलाइनमा छन्, ती कम्पनीहरूलाई अपडेटेड वित्तीय विवरण पठाउन भनेका छौँ । जतिले पठाएका छन्, उनीहरूको आइपिओ निष्कासन भएको छ ।’

उनले अपडेट भएर आएका कम्पनीको क्रमैसँग आइपिओ निष्कासन गरिँदै गएको बताए ।

श्रेष्ठ अध्यक्ष भएयता नेपाल लघुबिमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, प्योर इनर्जी, सान्भी इनर्जी, ट्रेड टावर कम्पनी र विकास हाइड्रपावरले आइपिओ निष्कासनको अनुमति पाइसकेका छन् ।
अनुमति पाएकामध्ये नेपाल लघुबिमा, क्रेस्ट, ओम मेगाश्री, प्योर र सान्भी इनर्जीले आइपिओे निष्कासन गरिसकेका छन् भने ट्रेड टावर र विकास हाइड्रोपावर आइपिओ निष्कासन गर्ने पर्खाइमा छन् ।
बोर्डबाट अनुमति पाएको २ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

ट्रेड टावरले चैतको २५ गते आइपिओ निष्कासनको अनुमति पाएको थियो भने विकास हाइड्रोपावरले वैशाख १६ गते मात्र आइपिओ निष्कासनको अनुमति पाएको हो ।

हाइड्रोपावरका ४३ कम्पनी पाइपलाइनमा

आइपिओ निष्कासनको पाइपलाइनमा हाइड्रोपावर कम्पनीहरू धेरै छन् । हाइड्रोपावर कम्पनीहरूले विगत २ वर्षदेखि आइपिओ अनुमति कुरिरहेका छन् ।

सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ ।

त्यस्तै, यमलिङ्ग हाइड्रोपावर लिमिटेड, मबिलुङ्ग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत ४३ कम्पनीहरू पाइपलाइनमा छन् ।

ती कम्पनीहरूले १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको आइपिओका लागि आवेदन दिएका छन् ।

आवेदन दिएका हाइड्रो कम्पनीमध्ये दुइटाले बुक बिल्डिङ विधिमार्फत् आइपिओ ल्याउन बोर्डसँग अनुमति मागेका छन् । सेन्चुरी इनर्जी लिमिटेडले २७५ रुपैयाँ ११ पैसा प्रतिकित्ता र हिमाल हाइड्रोपावर लिमिटेडले २१८ रुपैयाँका दरले आइपिओ निष्कासन अनुमति मागेका हुन् ।

जलविद्युत् समूहका अन्य ४१ वटा कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँका दरले आइपिओ निष्कासन अनुमति मागेका छन् ।

उत्पादन र प्रशोधन समूहका १८ कम्पनी

उत्पादन र प्रशोधन समूहका १८ वटा कम्पनीले आइपिओ निष्कासन अनुमति मागिरहेका छन् । एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेडले आइपिओ निष्कासन गर्ने भएका छन् ।

त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स् लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टिल्स लिमिटेडले आइपिओ ल्याउने तयारी गरिरहेका छन् ।

उक्त समूहका कम्पनीहरूले २४ अर्ब ८० करोड ६१ लाख रुपैयाँ बराबरको ११ करोड ३२ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्ने भएका हुन् ।

उत्पादन तथा प्रशोधन समूहका ६ वटा कम्पनीले बुक बिल्डिङ र प्रिमियममा आइपिओ निष्कासन अनुमति माग गरेका छन् । बाँकी ११ कम्पनी भने प्रतिकित्ता १०० रुपैयाँका दरले आइपिओ निष्कासनको पर्खाइमा छन् ।

होटल तथा पर्यटनका ९ कम्पनी

धितोपत्र बोर्डसँग होटल तथा पर्यटन समूहका ९ कम्पनीले पनि आइपिओ निष्कासन अनुमति मागेका छन् । एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एन्ड स्विट्स लिमिटेड, वर्नवास, माउन्टेन ग्लोरी आइपिओको पाइपलाइनमा छन् ।

यो समूहका ९ वटा कम्पनीले ४ अर्ब १० करोड ७० लाख रुपैयाँ बराबरको ४ करोड ३३ लाख २० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्न अनुमति मागेका हुन् ।

आवेदन दिएकामध्ये अकामा होटल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ बिक्री गर्ने अनुमति मागेको छ भने अन्यले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपिओ निष्कासन अनुमति मागेका छन् ।

अन्य समूहका ११ कम्पनी पाइपलाइनमा

सेबोनमा अन्य समूहका ११ वटा कम्पनीले आइपिओ जारी गर्न अनुमति पर्खिरहेका छन् । उक्त समूहका कम्पनीले ३ अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७०० रुपैयाँ बराबरको ३ करोड २४ लाख ३६ हजार ९५७ कित्ता सेयर बिक्रीका लागि अनुमति मागेका हुन् ।

उक्त समूहका ११ मध्ये ७ वटा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपिओ जारी गर्न अनुमति मागेका छन् भने बाँकी ३ कम्पनी (ह्याम्स हस्पिटल, कैलाश हेलिकोप्टर र छायादेवी कम्प्पेक्स) ले भने बुक बिल्डिङ र प्रिमियमबाट आइपिओ जारी गर्ने अनुमति मागेका छन् ।

नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड (न्यूज २४ टिभी)ले भने प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ बिक्री गर्ने अनुमति माग गरेको छ ।

सवा २ अर्बको एफपिओ पनि पाइपलाइनमा

यस्तै, ४ वटा कम्पनीले एफपिओ (फर्दर पब्लिक अफरिङ) निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विजय र किसान लघुवित्तले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

ती कम्पनीहरूले २ अर्ब २९ करोड १५ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ८६ हजार ७०० कित्ता एफफिओ जारी गर्ने तयारी गरिरहेका छन् ।

बुटवल पावरले प्रतिकित्ता २०६.२९ रुपैयाँमा १ करोड कित्ता एफपिओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले २ अर्ब ६ करोड रुपैयाँ बराबरको एफपिओ जारी गर्नेछ ।

यस्तै, नेसनल लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ करोड ६९ लाख ९० हजार २७ रुपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ ।

यसैगरी, विजय लघुवित्तले १०० रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ बिक्री गर्न अनुमति मागेको हो ।

यस्तै, किसान लघुवित्तले १०० रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपिओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यी कम्पनीहरूको एफपिओ पनि बोर्डले स्वीकृत गरेको छैन ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।