म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसँै लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ ।
अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरुको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन शुरु भएको स्थानीय ब्यवसायीहरुले बताएका छन् ।
बेनी नगरपालिका–९ गलेश्वरका होटल ब्यवसायी बाबुराम आचार्यले वडादसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताए । “असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शुन्य जस्तै भएको पर्यटक आगमन बिहिबारदेखि बढ्न थालेको छ,” उनले भने“मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँ–तिहारको बिचमा पर्यटक आगमन बढेर थलिएको ब्यापार ब्यवसाय चलायमान हुने अपेक्षा गरेका छौ ।”
असोजको ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ । विगतका तथ्याङ्क अनुसार शरदयामको असोज–कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो ।








