एक वर्षे परीक्षणपछि नेपालमा टुनल्याण्ड जी७ सार्वजनिक हुने तयारीमा


काठमाडौं । नेपाली सडकका लागि एक वर्षसम्म गरिएको विशेष परीक्षणपछि शक्तिशाली र प्रिमियम पिकअप टुनल्याण्ड जी७ नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

एक वर्षभन्दा बढी समय नेपाली भूगोल भर परीक्षण गरिसकेपछि एमएडब्लु वृद्धिले चीनको प्रसिद्ध टुनल्याण्ड ब्रान्डलाई नेपालमा भित्र्याउन लागेको हो ।

टुनल्याण्ड जी७ मा रहेको १६० एचपीको इञ्जिन र ३९० एनएम टर्कले यसलाई शक्तिशाली बनाउनुका साथै नेपालको जटिल सडकहरुमा राम्रो प्रर्दशन गर्ने कम्पनीको ठहर छ । यस मोडलमा २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इञ्जिन पुस–स्टार्ट बटन, हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोलजस्ता सुरक्षामूलक प्रविधिहरू समावेश गरिएको छ । जसले नेपाली भूपरिवेशमा सुरक्षित र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस गाडीको इन्टेरियरमा लक्जरी र कम्र्फटको संयोजन स्वरुप १२.३ इञ्चको इन्फिनिटी टचस्क्रिन, पानोरामिक सनरुफ, तथा हीटेड र भेन्टिलेटेड १२–वे इलेक्ट्रिक सिटहरू रहेका छन् ।

टुनल्याण्ड जी७ चीनमा नै नम्बर १ इभी पिकअपको रूपमा स्थापित भइसकेको छ । यसको निर्माण कम्पनी गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो । यही कारण, टुनल्याण्ड जी७ को गुणस्तर, शक्ति र सन्तुलनमा अन्तर्राष्ट्रिय स्तरकै विश्वास रहेको कम्पनीको भनाइ छ ।

टुनल्याण्ड जी७ ले नेपाली पिकअप बजारमा नयाँ मापदण्ड स्थापित गर्ने एमएडब्लु वृद्धिको विश्वास रहेको छ । कम्पनीले देशभरका उपभोक्तालाई यस गाडीको अनुभव लिन आग्रह गरेको छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  १९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।