मर्जर पछि समीट लघुवित्तको शेयर कारोबार खुल्यो, एफपीओ निष्काशन गर्ने


समीट लघुवित्तको रोक्का रहेको शेयर कारोबार सुचारु भएको छ । सजिलो लघुवित्तसँगको मर्जर पछि बनेको समीट लघुवित्तको शेयर कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेका अनुसार मर्जर पछि समीटको कुल शेयर संख्या ३९ लाख कित्ताभन्दा बढी कायम भएको छ । सजिलो लघुवित्तले सर्वसाधारणमा शेयर निष्काशन नगरेको हुनाले सजिलोको १४ लाख कित्ता संस्थापक शेयरलाई समीटको संस्थापक शेयरका रुपमा सूचीकरण गराएर दोस्रो बजारमा कारोबार खोलिएको हो ।

एक बराबर एकको अनुपातमा मर्जरमा गएका समीट र सजिलो लघुवित्तले गत असोज ६ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेका थिए ।

दुई संस्था मर्ज भएर समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबाबार सुरु भएको थियो । मर्जर पछि बनेको लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा कायम भएको छ ।

दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए भने एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भाद्र ७ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले भाद्र २८ गते स्वीकृती प्रदान गरेको थियो ।

मर्जर पश्चात लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । मर्जर अघि समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ तथा सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ थियो ।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गरेको संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ । सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने सभाले निर्णय गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।