इन्भेस्टर्स फोरमका पूर्वअध्यक्षलाई ३ प्रश्न

‘सेयर कर्जाको जोखिम भार घट्दा लगानीकर्ताको मनोबल उच्च भएको छ’


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामार्फत् लगानीकर्ताको माग सम्बोधन गरेको छ ।

केन्द्रीय बैंकले आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरेको हो । जसको लगानीकर्ताले स्वागत गरेका छन् र सेयर बजारप्रति सकारात्मक बनेका छन् ।

सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै केन्द्रीय बैंकले बढाएको जोखिम भार घटेसँगै थलिएको सेयर बजार उठ्ने आशा गरिएको छ ।

३ प्रश्नको आजको अंकमा हामीले राष्ट्र बैंकले लिएको लचिलो नीतिका विषयमा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका पौडेलसँग कुरा गरेका छौँ ।

  • सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्ने राष्ट्र बैंकको कदमले सेयर बजारमा कस्तो तरंग पैदा गर्ला ?

नेपाल राष्ट्र बैंकले हिजो गरेको मैद्रिक नीतिको समीक्षामा कर्जा जोखिम भार घटायो । यसले लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक असर गरेको छ ।

यो समीक्षाले राष्ट्र बैंक पुँजी बजारप्रति सकारात्मक छ, बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा गरेको लगानीमा कम ‘रिस्क’ छ अथवा सेयर बजार प्राथमिकताको क्षेत्र हो भन्ने कुरा लगानीकर्ताले बुझेका छन् ।

यसले बैंक तथा वित्तीय क्षेत्रको लगानी गर्ने क्षमता पनि बढाएको छ । बैंकिङ क्षेत्रको जोखिम भार करिब २५ अर्बले घटेको छ । अब बैंकहरूले थप २५ अर्ब कर्जा विस्तार गर्ने बाटो खुलेको छ ।

पुँजी बजार धेरै व्यक्ति संलग्न भएको क्षेत्र हो । यसमा ४०–४५ लाख सक्रिय लगानीकर्ता छन् । यी सबैको मनोविज्ञान सकारात्मक बनिदियो भने बजारलाई राम्रो हुन्छ ।

सरकार, नियामक निकायहरू पुँजी बजारप्रति सकारात्मक छन् भन्ने म्यासेज गइरहँदा लगानीकर्ताको पनि सकारात्मक धारणा बन्छ । जसले लगानी बढाउँछ । जसको सकारात्मक असर समग्र अर्थतन्त्रमा पर्छ ।

  • जोखिम भार घट्दा दीर्घकालमा कस्तो असर पर्छ ?

पुँजी बजारको सन्दर्भमा ३ वटा मापदण्ड छन् । पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाले यति प्रतिशतमा दिन नपाउने, यो क्षेत्रमा दिन पाउने, नेटवर्थ नआएका, ब्यालेन्स सिट २ वर्षसम्म सार्वजनिक नगरेका लगायत विभिन्न मापदण्ड छन् ।

यो भनिरहँदा आजसम्मको इतिहास हेरियो भने सेयर धितो कर्जा ‘डिफल्ट’ भएको छैन । सेयर ‘डिफल्ट’ नभएको वर्तमान सन्दर्भमा अहिले लिएको पोलिसीका कारण धेरै लगानीकर्ताको मनोबल सकारात्मक भइदिँदा भोलि त्यसको समग्र प्रभाव बजारको अन्य क्षेत्रमा पर्छ ।

बजार वृद्धि हुँदै गयो भने आज समस्यामा परेका व्यवसायीले सेयर बेच्न सक्ने भए । सेयर सहज रूपमा बिक्री हुने भयो । त्यो पैसा अन्य क्षेत्रमा लगानी गर्न सकिने भयो । त्यसले गर्दा दीर्घकालसम्म सकारात्मक असर पर्छ ।

  • पुँजी बजारलाई प्रोत्साहन गर्न कस्तो बजेटको अपेक्षा छ ?

अहिले पनि करसम्बन्धी दुविधाहरू छन् । आगामी बजेटमा त्यो हट्नुपर्छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जको सबलीकरण गर्नुपर्छ । लामो समयसम्म रोकिएका आइपिओ निष्कासनलगायत काम निश्चित मापदण्ड बनाएर काम नरोकिने वातावरण बनाउनुपर्छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।