शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी पाण्डेको नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट

0
Shares

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेको छ ।

२ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भईसकेको व्यक्तिलाई बीमा समितिले फेरी पनि प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि स्वीकृति दिएको भन्दै सर्वोच्चमा रिट परेको हो ।

अधिवक्ता माधव गौतमले दर्ता गरेको रिटमा शिखर इन्स्योरेन्सको सञ्चालक समितिले गरेको त्रुटीपूर्ण निर्णयलाई बीमा समितिले जस्ताको त्यस्तै कार्यान्वायन गराउन स्वीकृति दिएको उल्लेख छ ।

गौतमले शिखर इन्स्योरेन्स र बीमा समितिले नीति नियमभन्दा बाहिर गएर पाण्डेलाई तेस्रो कार्यकालका लागि प्रमुख कार्यकारी नियुक्त गरेको उल्लेख छ । बीमा समिति र शिखर इन्स्योरेन्सलाई विपक्षी बनाई दर्ता गरिएको रिटमा पाण्डेको नियुक्ति बदर गर्न माग गरिएको छ । साथै संगठित संस्थाले गरेको गलत निर्णयलाई हुबहु स्वीकृति दिने बीमा समितिलाई पनि कार्वाही गर्न माग गरिएको छ ।

दोस्रो कार्यकाल सकिए पछि पाण्डेलाई तेस्रो कार्यकालका लागि प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय कम्पनी सञ्चालक समितिले गरेको थियो । गत असोजमा बीमा समितिले संस्थागत शुसासन निर्देशिका २०७५ अनुसार पाण्डे कम्पनीको प्रमुख कार्यकारीका लागि योग्य रहेको भन्दै कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएको थियो ।

पाण्डेलाई पुनः इन्स्योरेन्सको प्रमुख कार्यकारी बनाउने तयारी चल्दै गर्दा प्रमुख कार्यकारीको दौडमा रहेका अन्य व्यक्तिहरुले नियम विपरित नियुक्ति दिन खोजिएको भन्दै चौतर्फी आलोचना गरेका थिए ।

गौतमले दर्ता गरेको रिट उपर आगामी मंसिर ४ गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।